
सुमन सायमी हाम्रो नेपाली पार्टी, काठमाडौं - ८ पुरुष , ४९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य
कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ चर्चित छन् । २०६८ सालमा प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सडक विस्तार अभियान चलाएपछि बिचल्लीमा परेकाहरूको आवाज बनेका थिए, उनी ।
सरकारले सडक विस्तार गर्दा सर्वस्व भएका एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति–सभ्यताको संरक्षणमा निस्किएको सायमी बताउँछन् ।
‘कलंकीमा पसल र बालाजुमा उसको सानो घर थियो’ सायमी भन्छन्, ‘सडक विस्तारको नाममा सरकारले बालाजुको घर पूरै भत्काइदियो । कलंकीमा पसल रहेको घर पनि आधा भत्काइएपछि गरिखाने मेलो सकिएछ । सामान्य गुजारा गरिरहेको व्यक्तिले त्यति धेरै खप्न नसक्ने रहेछ ।’
सायमीका अनुसार सरकारको त्यो सडक विस्तार अभियान बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र न्यायिक थिएन । त्यो देखेपछि आफू चुपचाप व्यवसाय गरेर बस्न नसकेको उनी बताउँछन् ।
सायमीले त्यसबेला सडक विस्तार पीडित संघर्ष समिति बनाएर त्यसको नेतृत्व गरेका थिए । त्यसक्रममा उनले आदिवासीको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरू अध्ययन गरे ।
‘नेपालको अदालतमा मुद्दा दिंदा विकल्प वा घरजग्गाको क्षतिपूर्ति र मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश भयो, तर सरकारले कार्यान्वयन गरेन’ उनी भन्छन्, ‘त्यसपछि अन्तर्राष्ट्रिय श्रम संगठनमा पनि उजुरी दिएर यो विषयलाई अन्तर्राष्ट्रियकरण ग¥यौं ।’
सायमी गत वैशाखको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । उनको चुनाव चिह्न आँखीझ्यालमा १३ हजार ७७० जना मतदाताले स्वस्तिकको ठप्पा लगाए ।
त्यो चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’मा स्वतन्त्रहरूलाई एकीकृत गर्ने प्रयास उनैले गरेका थिए । तर, निर्वाचन आयोगले अनन्तराज घिमिरेको हाम्रो नेपाल पार्टीलाई लौरो चुनाव चिह्न दिएको रहेछ । पार्टीको चुनाव चिह्न स्वतन्त्रको नाममा प्रचार गरेको उजुरी परेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको सायमीले बताए ।
स्थानीय तह निर्वाचनमा लौरो चिह्नबाट काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङ विजयी भएपछि अनन्तराज घिमिरेले त्यो चिह्न कब्जा गरेका थिए । पछि उनले यो चुनाव चिह्न प्रयोग गर्न ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’लाई सहमति दिएका थिए ।
यसपटक त्यही लौरोबाट प्रतिनिधिसभा सदस्य बन्ने ताकमा छन् सायमी । उनका बुवा जीवनराज मानन्धर पुराना वामपन्थी नेता हुन् । कुनै समय कालीमाटीस्थित उनको घरमा मनमोहन अधिकारी, मदन भण्डारी, केपी शर्मा ओलीलगायत नेताहरूले सेल्टर लिन्थे ।
सुमन सायमीले काठमाडौं–८ मा सत्ता गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का वहालवाला संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेकपा ९एमाले०का शिवसुन्दर राजवैद्यसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं–८ का वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएका छन् ।
कांग्रेसको सबै मत एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले नपाउने र एमालेमा पनि विवाद रहेकाले आफूलाई फाइदा हुने सायमीको आशा छ । रैथानेको मत त स्वतः आफूले बढी पाउने हिसाबमा उनी छन् ।
कमेडियन अपूर्व क्षितिज सिंहलाई थुन्न सायमीको भूमिका रहेको आरोप छ । विवादित भिडियो डिलिट गरेर पटक–पटक माफी माग्दा समेत सिंहलाई लामो समय थुनिएकोमा नेवार समुदायकै पनि कतिपय युवाबाट विरोध भएको थियो । ठूलो जनाधार भएका स्थापित नेताहरूसँग चुनावी स्पर्धामा रहेका सायमीलाई यो पक्षको प्रतिकूलता पनि छ ।